Home » » ‘नानीलाई नचिनेकासँग च्याट गर्न नदिनू'

‘नानीलाई नचिनेकासँग च्याट गर्न नदिनू'

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं-नचिनेका मानिससँग आफ्ना नानीहरुलाई फेसबुकमा च्याट गर्न नदिनुस्। तपाईंका नानीहरु अनावश्यक अपराधमा फस्नेछन्। महानगरीय साइबर अपराध अनुसन्धान सेलका प्रमुख प्रहरी निरीक्षक पशुपति रायले एनप्याब्सन केन्द्रीय कार्यालयमा स्कुलका कम्प्युटर शिक्षक तथा प्रधानाध्यापक (प्रअ)हरुलाई सचेत गराइरहेका थिए।
मंगलबार राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल(एनप्याब्सन)को कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा भेला भएका कम्प्युटर शिक्षक तथा स्कुलका प्रअहरुलाई प्रमुख रायले स्कुलका नानीलाई साइबर अपराधबारे सचेत गराउन तालिम दिए।
साइबर अपराध अनुसन्धान सेल प्रमुख रायले सहभागी आइटी शिक्षकहरुलाई विद्यार्थीले बढी समय विद्यालयमा बिताउने भएकाले शिक्षकले उनीहरुलाई कक्षामा पाठ्यक्रमका विषयबस्तु साथै साइबर अपराधबाट बच्ने उपाय, यसका कानुनी ब्यवस्था र व्यावहारिक कठिनाइबारे जानकारी गराएका थिए। रायका अनुसार कतिपयले अपरिचितसँग अनलाइन च्याटबाटै प्रत्यक्ष भेटेर विवाह गरेर अलपत्र पार्ने गरेका घटनासमेत बढेका छन्।
‘प्रहरीसम्म आएको केसका आधारमा कक्षा ७ देखि प्लस टुसम्म अध्ययनरत नानीहरु साइबर अपराधमा फस्ने गरेको देखिएको छ,' उनले भने, ‘उनीहरु नचिनेका झुठो आइडीवालासँग अबेरसम्म च्याटमा बस्छन्, र अपराधमा फस्छन्।'
स्कुल, कलेज र शिक्षक र विद्यार्थीलाई तालिम दिँदा लक्षित वर्गसम्म छिट्टै सूचना प्रभाव भएको र यसबाट सकारात्मक परिवर्तन आएकाले सेलले स्कुल कलेजका विद्यार्थी, अभिभावक, शिक्षकलाई सचेत गराउन अभियान सुरु गरेको उनले जानकारी दिए।
‘हामीलाई स्कुलका प्रअहरुले स्कुलमै आएर बालबालिका तथा अभिभावकलाई साइबर अपराधबारे सचेत गराउने कार्यक्रम गर्न आग्रह गरिरहेका छन्,' उनले भने, ‘कार्यक्रम प्रभावकारी भए पनि जनशक्ति अभावले माग आएका सबै स्थानमा जान सकेका छैनौं।'
आइटीका शिक्षक पनि रायले दिने साइबर अपराधसम्बन्धी जानकारी विद्यार्थीसँग बाँड्ने गरेका छन्। भक्तपुरको क्रियटिभ सेकेन्डरी स्कुलका प्रधानाध्यापक विश्वराम दुवालले उनको स्कुलमा फेसबुककै कारण अभिभावकबीच ठूलो झगडा भएको सुनाए। ‘फेसबुकमै हाम्रा स्कुलका नानीहरुले एकअर्काका अभिभावकलाई गालीगलोज गरे,' दुवाले भने, ‘फेसबुकका विषय लिएर नानीहरुले स्कुलमा फाइट गरेपछि उनीहरुका अभिभावक स्कुलमै आएर झगडा गरेका थिए।'
तालिममा सहभागी भक्तपुरको हिमचुली सेकेन्डरी स्कुलका प्रधानाध्यापक एवं एनप्याब्सनका कोषाध्यक्ष सञ्जय खड्काले बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्नबाट बन्चित गर्न नसकिने बरु अपराधबाट बच्ने उपायबारे सचेत गराउन सकिने बताए। उनले कक्षा ७ देखि नै विद्यालयका नानीहरु फेसबुक लगायत सामाजिक सञ्जाल प्रयोगमा व्यस्त हुने गरेको बताए।
एनप्याब्सनका वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर अधिकारीले स्कुले नानीहरुलाई साइबर अपराधबाट जोगिन स्कुलका शिक्षकलाई तालिमको व्यवस्था गरिएको बताए। आइटी शिक्षकलाई समेत साइबर अपराध, कानुनी व्यवस्था र व्यावहारिक कठिनाइबारे जानकारी नभएकाले एनप्याब्सनले प्रहरीको सहयोगबाट चेतना बढाउने प्रयास गरेको जानकारी दिए।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved