Home » » को–को फर्कँदैछन् एमालेमा ?

को–को फर्कँदैछन् एमालेमा ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौँ, १ चैत । एमालेको नीति र कार्यशैलीमा असहमति जनाउँदै पार्टीबाटै बाहिरिएका संस्थापक नेता राधाकृष्ण मैनाली केही दिन अघि एमालेमा फर्किए ।

एमालेलाई जनजाति विरोधी पार्टी भन्दै संघीय समाजवादी खोल्न गएका संघीय समाजवादीका वरिष्ठ उपाध्यक्ष बिजय सुब्बा पनि दलबलसहित एकबर्ष नबित्दै एमालेमै फर्किए । संघीय समाजवादीका सचिव मिना गुरुङ, केन्द्रीय नेता चन्द्रलाल केप्छाकी गुरुङ, विद्यार्थीका केन्द्रीय अध्यक्ष शैलेश लामा पनि ठूलो समूह लिएर एमाले फर्किए । केन्द्रीय अध्यक्ष नै फर्किएपछि संघीय समाजवादीको विद्यार्थी संगठन अहिले भताभुंग छ ।

राप्रपाका नेता एवं पूर्वमन्त्री गोविन्दविक्रम शाह गत महिनामात्रै पार्टीको ठूलै पंक्ति लिएर एमालेमा प्रवेश गरे । शाह फर्किएपछि उनको गृहजिल्ला जाजरकोटमा राप्रपाका जिल्ला अध्यक्ष कमानबहादुर खडकाको नेतृत्वमा सिंगो पार्टी नै गतबर्ष एमालेमा विलय भएको घोषणा गरियो । राप्रपाका प्रभावशाली नेता पार्टीमा प्रवेश गरेपछि एमाओवादीको युद्धकालको गढ मानिएको जाजरकोटमा एमालेका नेता तथा कार्यकर्ता उत्साहित छन् ।

२०३६ सालमा मालेमा लागेका तर बीचमा एमाले छाडेका प्रल्हाद गिरी पनि यो बीचमा एमालेमै समाहित भए ।

नेकपा मालेको पोलिटव्युरो सदस्य विष्णु भट्टराई, भोजराज दाहाल, भाष्कर काफ्ले, देवमान सम्बाहाम्फे, चन्द्रकला सुब्बा, विद्यार्थीका केन्द्रीय अध्यक्ष र महासचिव पनि एमाले फर्किए ।

माले फुटेर बनेको माले समाजवादीका संसदीय दलका नेता यदुवंश झा पनि एमालेमै फर्किए ।

काठमाडौँमा एमाओवादीका जिल्ला कमिटी सदस्यसहित सयौँ एमालेमा प्रवेश गरे । एमाले महासचिव इश्वर पोखरेलको निर्वाचन क्षेत्र, काठमाडौं-५ ले दुई साताअघि आयोजना गरेको कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेललाई एमाले प्रवेश गराउन भ्याइनभ्याइ थियो ।

लमजुङमा नेपाली काँग्रेसका क्षेत्रीय कोषाध्यक्ष शिव जोशीसहित दर्जन नेता कार्यकर्ता एमालेमा प्रवेश गरे ।

अहिले पनि जिल्लाका सभा र औपचारिक कार्यक्रममार्फत एमाले फर्कने क्रम जारी छ ।

किन प्रवेश गर्दैछन् एमालेमा ?

‘माओवादी असफल भयो, जसका कारण माओवादीमा विश्वासनियता घटेको छ । काँग्रेसले पनि नेतृत्व दिने जस्तो छाँट देखिएन,’ एमालेका केन्द्रीय सचिव पृथ्बीसुब्बा गुरुङको तर्क छ, ‘एमालेले आफूलाई धेरै कुरामा नीतिगत स्पष्ट गर्दै ल्यायो । नवौँ राष्ट्रिय महाविधेशनपछि एमालेले जुन नीति पारित गरेको छ, त्योबाट धेरै मानिसहरु आकर्षित भएका छन् ।’

एमाले छाडेर विभिन्न पार्टीमा गएका मानिसहरु समेत अहिले पछुताइरहेको सचिव गुरुङको दाबी छ । ‘भ्रम, स्वार्थ, डरका कारण युद्धकालमा, माओवादी शान्तिकालमा आएपछि र संविधानसभाको निर्वाचनको बेला एमाओवादीमा गएकाहरु अहिले पश्चाताप गरिरहेका छन् । माओवादी पार्टीको रुपमा विकास भएको रहनेछ भनेर हामीसँग टिप्पणी गर्छन ।’, सचिव गुरुङ थप्छन्, ‘पार्टीको विधान नै पास गर्न नपर्ने, एक नेताले अर्कालाई सक्ने र लोकतान्त्रिक अभ्यास नै नगर्ने पार्टीमा गइयो भनेर पश्चाताप गर्नेको संख्या ठूलो छ ।’

सचिव गुरुङको शब्दमा ‘माओवादीमात्र नभई काँग्रेस र राप्रपा जस्ता लोकतान्त्रिक शक्तिका असन्तुष्टहरुलाई पनि साँच्चिकै लोकतान्त्रिक पार्टी एमाले नै रहेछ’ भन्ने परेको छ । ‘एमालेका महाधिवेशन, अधिवेशनबाट व्यवहारत यो पुष्टि पनि भइसकेको छ ।’– गुरुङले भने ।

एमाले सचिव गुरुङ यसको जस पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पनि दिन्छन् । भन्छन्, ‘राष्ट्रियता, भौगोलिक अखण्डता, स्वाधिनतामा एमालेले आफ्नो स्पष्टता र दृढता केपी ओलीको नेतृत्वले स्थापित गरायो । यो पनि अर्को कारण हो ।’
एमाले स्थायी समितिका सदस्य सुरेन्द्र पाण्डे एमालेमा पार्टी प्रवेश बढ्नुलाई स्वभाविक ठान्छन् ।

‘कतिपय कमजोरी भएपनि समग्रमा योग्य, सक्षम र राष्ट्रप्रति समर्पित नेताहरुको समूह एमालेमै छ । त्यसैले मानिसहरु प्रवेश गर्ने क्रम बढेको हो ।’, पाण्डेको तर्क छ, ‘ह्वारह्वार्ती भन्दा पनि मानिसहरुलाई छानेर प्रवेश गराएका छौँ । मानिसहरुलाई सच्याउने, शुद्धीकरण गर्ने, कारबाही गर्ने पार्टीको आफ्नै संयन्त्र पनि छ । जसले गर्दा प्रवेश र शुद्धीकरण सँगसँगै भइरहेको छ ।’

प्राविधिक रुपमा एमाले दोस्रो ठूलो दल भएपनि नीति र शक्तिका हिसाबले पहिलो पार्टी नै भएको पाण्डे दाबी गर्छन् । ‘थोरै हाम्रो आन्तरिक कुरा मिलेको भए पहिलो पार्टी नै हुन्थ्यो ।,’ उनी भन्छन्, ‘अब बहुमत ल्याएर सरकार संचालन, सरकारमार्फत राष्ट्रिय मार्ग तय गर्ने र जनतालाई त्यसैलाई अग्रसर गर्न नेतृत्व गर्ने एमाले नै हो । त्यसैले आकर्षण बढेको हो ।’

नाङ्लो पसल कि सुपरमार्केट ?

काँग्रेस र माओवादी सँगसँगै स–साना कम्युनिष्ट पार्टीमा रहेका नेता कार्यकर्ताको पनि एमालेतर्फ आकर्षण बढेको सचिव गुरुङ बताउँछन् ।

‘एमाले सुपरमार्केट हो ।,’ उनी भन्छन्, ‘सुपरमार्केट हुँदाहुँदै नाङ्लो पसल थापेर किन बस्ने भन्ने पनि परेको छ ।’

सचिव गुरुङका अनुसार, साना–साना कम्युनिष्ट पार्टीलाई एमालेमा समाहित गराउन छलफल चलिरहेको छ । एमाओवादी शान्ति प्रक्रियामा गएपछि त्यसलाई धोका भयो भन्दै हतियार बोकेर बसेका शक्तिहरु समेत अहिले एमालेमै फर्कने तयारीमा छन् । ‘शान्तिप्रक्रिया धोका हो भनेर केही मानिस माओवादीमा गएनन् । हतियारबाट मुलुकमा परिवर्तन भएन, हतियारको औचित्य सकियो, युद्धको औचित्य सकियो भने अब माओवादीमा किन फर्कने भनेर बहस चलाइरहेका छन् । उनीहरुको आकर्षण पनि एमाले नै देखिएको छ ।’ उनले भने ।

को-को फर्कदैँछन् ?

अबको चरणमा माओवादी कम्युनिष्ट सेन्टर र किराँत वर्कर्स पार्टीका नेताहरु एमालेमा प्रवेश गर्दैछन् । काँग्रेस र राप्रपाका तल्लो तहका नेता–कार्यकर्ताहरुलाई एमाले प्रवेश गराउन नेताहरु परिचालित भएका छन् ।

एमाले छाडेर माओवादीमा गएका रामचन्द्र झा, डिल्लीराज खनाल लगायतका नेताहरु पनि एमाले फर्कने तयारीमा रहेको स्रोतले बतायो ।

स्रोतका अनुसार, एमाले छाडेका विषमलाल अधिकारी दनुवार, धर्मदत्त देवकोटा, जितबीर लामा पनि एमाओवादीभित्र सन्तुष्ट छैनन् । रामचन्द्र झालाई विस्तारै एमालेमै फर्काउने तयारी भएपनि उर्मिला अर्याल लगायतलाई भने एमालेले खासै मतलब गरेको छैन ।

एमाओवादी नीति भन्दा एमालेको जनताको बहुदलीय जनवाद नै ठीक भन्दै एमाओवादीमा रहेका पूर्व एमालेहरुले अहिले २५ वटा जिल्लामा फोरम नै बनाएर छलफल गरिरहेको स्रोतले बतायो । उनीहरु ठूलो पंक्तिमा एमाले फर्कने पक्षमा रहेको बताइएको छ ।

संघीय समाजवादीबाट पनि ठूलो पंक्ति एमालेमा फर्कने तयारीमा रहेको संघीय समाजवादीको वरिष्ठ उपाध्यक्ष त्यागेर एमाले फर्किएका बिजय सुब्बाले बताए ।

‘पहिले हामी आउने बित्तिकै धेरै ठूलो पंक्ति आउने तयारीमा थियो, पार्टीले मलाई व्यवस्थापन गर्न ढिला गर्‍यो । हामी यता न उता भइन्छ कि भन्ने डरले साथीहरु मत्थर भए । त्यो समूह पनि एमालेमै आउँछ ।,’ सुब्बाले भने, ‘वास्तवमा सक्षम नेतृत्व एमालेमा छ, एमालेमा यतिधेरै इमान्दार कार्यकर्ता छन्, जसको अन्य कुनै पार्टीसँग तुलना नै हुन सक्दैन, मानिसहरु एमालेमै भविष्य देख्छन् ।’

संघीय समाजवादीमा रहेका रिजवान अन्सारी र गोपाल ठाकुर लगायतलाई एमालेमै फर्काउने विषयमा छलफल चलिरहेको स्रोतले बतायो । तर, उनीहरुलाई ठूलो पद दिन नसकिने एमालेले सन्देश पठाएको छ । उनीहरुलाई कसरी व्यवस्थापन गर्ने भनेर एमालेभित्र छलफल चलिरहेको छ ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved