भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं: १६ वटा राजनीतिक दलको समर्थनबाट
प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीले
आइतबार विस्तार गर्न लागेको मन्त्रिपरिषद्मा पाँच
उपप्रधानमन्त्री हुनसक्ने देखिएको छ ।
एमाओवादीबाट सचिव टोपबहादुर रायमाझी र
माले महासचिव सीपी मैनालीले
उपप्रधानमन्त्रीसहितको मन्त्रालयको जिम्मेवारी
लिएर आइतबार शपथ लिने स्रोतले बतायो ।
पार्टीभित्र विवाद रहे पनि एमाले उपाध्यक्ष भीम
रावलको नाम पनि उपप्रधानमन्त्री पदका लागि
लगभग तय भएको स्रोतले बतायो ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा र मधेसी
जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष
विजयकुमार गच्छदार यसअघि नै उपप्रधानमन्त्री
नियुक्त भइसकेका छन् ।
विवादका कारण एमालेबाट मन्त्री हुनेहरूको सूची
तयार नभए पनि सरकारमा सहभागी हुने अन्य दलका
मन्त्रीहरूको शपथ आइतबार गर्न सरकारले राष्ट्रपति
कार्यालयमा प्रस्ताव पठाइसकेको छ ।
राष्ट्रपति कार्यालयले अपराह्न ३ बजे सभामुख र
उपसभामुखको शपथका लागि समय निर्धारण गरेको छ
भने त्यसपछि मन्त्रीहरूको शपथका लागि समय तय
गरेको छ ।
प्रधानमन्त्री ओली, एमाओवादी अध्यक्ष पुष्पकमल
दाहाल, राप्रपा नेपालका अध्यक्ष कमल थापा र
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष
विजय गच्छदारबीच शनिबार बालुवाटारमा भएको
बैठकले मन्त्रालयको भागबन्डा गरेको थियो ।
बैठकमा सहभागी एमाओवादी सचिव वर्षमान पुनका
अनुसार आइतबार शपथ ग्रहण गराउने गरी सत्ता
साझेदार दलहरूले आआफ्ना दलभित्र गृहकार्य गर्ने
समझदारी भएको हो ।
एमाओवादीले सचिव टोपबहादुर रायमाझीलाई
उपप्रधानमन्त्रीसहित पर्यटन तथा नागरिक उड्डयन
मन्त्रालयको जिम्मेवारी लिँदै सरकारमा पठाउने
निर्णय गरेको छ । अर्का सचिव गिरिराजमणि
पोखरेल सिँचाइ मन्त्रालयको जिम्मेवारीसहित
सरकारमा जानेछन् । कोषाध्यक्ष हरिबोल गजुरेलले
कृषि मन्त्रालयको जिम्मेवारी समालिसकेका छन् ।
त्यसैगरी स्थायी समिति सदस्य अग्नि सापकोटा
शिक्षा र अर्का स्थायी समिति सदस्य शक्ति बस्नेत
गृह मन्त्रालयको जिम्मेवारीमा सरकारमा जाँदैछन् ।
एमाओवादीले प्राप्त गरेका सामान्य प्रशासन,
वाणिज्य तथा आपूर्ति, वन तथा भूसंरक्षण
मन्त्रालयमा रेखा शर्मा, गणेशमान पुन, उमेश यादव,
शिव मण्डल, सन्तकुमार थारू, दलजित
श्रीपाइलीमध्येबाट पठाउने जिम्मेवारी अध्यक्ष
पुष्पकमल दाहालले पाएका छन् ।
दाहालका स्वकीय सचिव चूडामणि खड्काका
अनुसार आइतबार शपथ ग्रहणअघि नै एमाओवादीबाट
सिफारिस हुने नेताहरूको सूची प्रधानमन्त्रीलाई
पठाइनेछ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी
पहिलोपटक सरकारमा सहभागी हुँदैछन् भने बहुजन
समाजवादी पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान
पनि सरकारमा जाँदैछन् । समाजवादी पार्टीका
नेता प्रेमबहादुर सिंहले मन्त्री हुने चाहना
प्रधानमन्त्रीसमक्ष व्यक्त गरेका छन् ।

0 comments:
Post a Comment