Home » » कांग्रेसलाई राष्ट्रपति ‘दिन सकिने’

कांग्रेसलाई राष्ट्रपति ‘दिन सकिने’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

आश्विन ३०, २०७२- एमाले
वरिष्ठ नेता तथा
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले
प्रधानमन्त्री निर्वाचनमा ‘भद्र सहमति’
तोडेर गल्ती गरेको स्वीकारे कांग्रेसलाई
राष्ट्रपति दिन सकिने संकेत गरेका छन् ।
उनले राष्ट्रपति पदको नाम नलिईकन
‘चाहेको ओहोदा’ दिन सकिने भन्दै
त्यसतर्फ संकेत गरेका हुन् ।
कांग्रेसले राष्ट्रपतिमा इच्छा
देखाइरहेका बेला सत्तारूढ प्रमुख दलका
प्रभावशाली नेता नेपालबाट यस्तो
धारणा आएको हो । एमाले कागेश्वरी
मनोहरा १३ नगर कमिटीले शनिबार
गरेको शुभकामना कार्यक्रममा नेता
नेपालले कांग्रेस सरकारमा समेत सहभागी
हुन तयार हुनुपर्ने सर्त अघि सारे ।
‘कांग्रेसले हिजो भद्र सहमति उल्लंघन गरेर
विश्वासघात गरे पनि विगतको
कमजोरी स्वीकारेर सरकारमा आउन
सक्छ, त्यसो हुँदा उसले चाहेको ओहदा
दिन सकिन्छ,’ नेपालले भने । कांग्रेसले
गल्ती गरे पनि राजनीतिलाई सहज
रूपमा अघि बढाउन उदार रूपले प्रस्तुत
हुनुपर्ने धारणा एमालेभित्र केही नेताहरूले
राखिरहेका छन् ।
सरकार लामो समयसम्म चलाउन र
संविधानको कार्यान्वयन सहज बनाउन
कांग्रेसप्रति नरम व्यवहार गर्नुपर्ने
उनीहरूको राय छ । यो विषयमा एमाले
बैठकमा भने औपचारिक छलफल भएको छैन ।
विशेष गरी नेता नेपालसहित उनको
समूहले काग्रेससँग निकट सम्बन्ध राखेर नै
बढी काम गर्न सकिने भन्दै त्यही ढंगले
प्रस्तुत हुनुपर्ने राय प्रधानमन्त्री तथा
पार्टी अध्यक्ष केपी ओलीलाई पनि
दिएका छन् ।
राष्ट्रपति पदको वातावरण बनाउनकै
लागि कांग्रेसले शुक्रबार संसदमा भएको
सभामुख निर्वाचनमा उम्मेदवारी
दिएको थिएन । मतदान नै हुने अवस्थामा
सत्तारूढ गठबन्धनका उम्मेदवारलाई
सभामुखमा मत दिन कांग्रेसले आफ्ना
सांसदलाई हविप जारी गरेको थियो ।
नेता नेपालले सत्तारूढ दलबीच एमालेले
राष्ट्रपति लिने सहमति भएको उल्लेख
गर्दै यसबारे अन्य दलहरूसँग पनि छलफलपछि
निर्णयमा पुग्ने बताए । दसैंलगत्तै
राष्ट्रपति र उपराष्ट्रपति चयन
प्रक्रिया अघि बढ्छ । संसद् सचिवालय
स्रोतका अनुसार कात्तिक ७ मा बस्ने
संसद् बैठकपछि यसलाई अघि बढाउने
तयारी छ । पहिले सहमतिको प्रयास
गरिने र त्यसबाट सफल नभए बहुमतीय
प्रक्रिया आरम्भ हुनेछ ।
यसैबीच एमाले नेता नेपालले पहिलो
महिला सभामुख निर्वाचित भएकामा
सम्पूर्ण नेपाली महिला हर्षले
गौरवान्वित भइरहेको उल्लेख गर्दै
राष्ट्रपति पनि महिलाबाटै
निर्वाचित गर्न सक्दा मुलुकका लागि
ऐतिहासिक हुने बताए । उनले
तराईकेन्द्रित दलमा संविधानप्रति केही
असन्तुष्टि रहे पनि प्रधानमन्त्री र
सभामुख–उपसभामुखको निर्वाचनबाट
उनीहरूले संविधानलाई शतप्रतिशतले
स्वीकार गरिसकेको दाबी गरे । उनले
आन्तरिक मामिलामा भारतले
अनावश्यक हस्तक्षेप गर्न जरुरी नभएको
धारणा पनि राखे । ‘नेपालको
मामिलामा भारतले हस्तक्षेप गर्न जरुरी
थिएन, बरु नेपाली जनता भोकै बस्न
सक्छन्, समर्पण गर्न तयार छैनन्,’ नेपालले
भने ।
नेपाल भ्रमणमा आउँदा भारतीय
प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तुतिले
विश्वास र प्रतिष्ठा बढेको भए पनि
अहिले उनीमाथि प्रश्न उठेको उनले
उल्लेख गरे । उनले काठमाडौंलाई तराई
जोड्ने फास्ट ट्रयाक भारतीय
कम्पनीलाई दिई भ्रष्टाचारका लागि
मुलुक नै डुबाउने राष्ट्रघाती काम हुन
लागेको भन्दै त्यसलाई रोक्न सरकारको
गम्भीर ध्यानाकर्षण पनि गराए । ‘४०
अर्बमा हुने फास्ट ट्रयाकको काम १ खर्ब
१२ अर्ब रुपैयाँमा भ्रष्टाचारका लागि
भारतीय कम्पनीलाई दिएर देश डुबाउन
खोजिँदै छ,’ उनले भने, ‘विजय गच्छदारजी
त्यस्तो राष्ट्रघाती काम तुरुन्तै रोक्नुस्
।’

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved